स्कुल जाने बेला भयो मोजा हरायो
कता गयो मोजा भन्दै भाइ करायो ।
लाइट बाल्यो खाटमुनि हेर्न उसले थाल्यो
खोतलखातल पार्यो झोला एकएक गर्दै फाल्यो
यता पनि छैन मोजा त्यता पनि छैन
मोजा कता पर्यो लौ न मरे भेटिँदैन ।
अघिसम्म यतै थियो अहिले हरायो
खोज्दा खोज्दा नभेटेर भाइ करायो ।
हाँस्दै हाँस्दै बा आउनु भो दङ्ग पर्नुभयो
हातको मोजा तान्नु भयो लाजै मर्नु भयो
बिना मेसै अन्तरकुन्तर गर्यो व्यर्थै चियो
खुट्टामा थ्यो एउटा मोजा अर्को हातमा थियो ।
मोजा होइन बरु मेरो सुद्दी हरायो
बल्ल भेटेँ मोजा भन्दै भाइ करायो ।
भोर्लेटार, लमजुङ


रमेशचन्द्र घिमिरे 














प्रतिक्रिया दिनुहोस्