शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले सरकारले विद्यालयहरूमा दिएको आइतबारको विदा ‘एआईलाई सोधेर गरिएको निर्णय” भन्दै तत्काल फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ ।

नानीबाबुु अनलाईनडटकमले सुरु गरेको युट्युब च्यानल अन्तर्गतको नानीबाबु संवाद शृंखलामा कुराकानी गर्दै उहाँले संविधानको अनुसूची ८ मा उल्लेखित स्थानीय सरकारको अधिकारलाई नहेरी जबर्जस्ती गरिएका कारण संघिय सरकारले आइतबार विदा दिने निर्णय गरेपनि कैयन् पालिकाहरू र कोशी प्रदेश सकारले समेत यसलाई नमानेको बताउनुभयो । पेट्रोलियम पदार्थको चर्को अभाव भएको अवस्थालाई कारण देखाउँदै उक्त निर्णय गरिएको र अब त्यो अवस्था नरहेकाले सरकाले अझै पनि आइतबारको विदा खारेज गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।

शिक्षाविद् कोइरालाले अहिलेको सरकारलाई मुलुकको शिक्षा क्षेत्रको वास्तविक रूपान्तरणका लागि ४ मुख्य सुझाव दिनु भएको छ । मोवाइल र सामाजिक सञ्जाल मार्फत् शिक्षकलाई अद्यावधिक गर्न, विद्यार्थी र शिक्षका साथै सकिन्छ भने अभिभावक समेतका लागि स्व–मूल्यांकनको डिजिटल पद्धति विकास गर्न, प्रत्येक विद्यार्थीलाई गरिखाने सीप अनिवार्य गराउन र विद्यालय तहदेखि नै अनुसन्धानलाई संस्थागत गर्न शिक्षामन्त्रीलाई उहाँको सुझाव छ ।

मुलुकमा विभिन्न प्रकारका विद्यालयहरू रहेको सन्दर्भमा शिक्षा सबैलाई समान हुन नसक्ने धारणा राख्दै उहाँले नीजि र सरकारी विद्यालयका विद्यार्थीलाई सहकार्य गराउनु अपरिहार्य रहेको औंल्याउनु भएको छ ।

नीजि विद्यालयले सहकार्यको कुरामा वास्तै नगरेको र सरकारले निजी विद्यालयलाई अपेक्षित नियमन गर्न नसकेको उहाँको भनाई छ । कतिपय सरकारी विद्यालयहरू पूर्वाधार सम्पन्न तर विद्यार्थीविहीन अवस्थामा पुगेकोतर्फ औंल्याउँदै उहाँले त्यस्ता सरकारी संरचनाहरू नीजि क्षेत्रलाई प्रयोग गर्न दिनुपर्ने पनि बताउनुभयो ।

पछिल्लो समयमा विद्यार्थीहरूले घोक्नु वा कण्ठ गर्नु पूरै गलत हो भन्ने भाष्य स्थापित गरिएकोप्रति कडा विमति जनाउँदै उहाँले यस्तो कार्यलाई ‘ज्ञानमारा’को संज्ञा दिनु भयो । हाम्रा पुर्खाहरूले घोकेरै ज्ञान परम्परालाई जोगाउन सफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जसले घोक्नु बेठीक हो भनेर नचाहिने कुरा गरिरहेका छन् ती सबै ज्ञानमारा हुन् ।”

घोक्दा वा कण्ठ गर्दा संज्ञानात्मक मस्तिष्क (कग्नेटिभ ब्रेन) सक्रिय हुने उल्लेख गर्दै उहाँले देवनागरीका स्वर वा व्यञ्जनको उच्चारण गर्दा शरीरका पृथक् पृथक् उर्जा केन्द्रहरूमा संघात पर्ने तथ्य संझाउनु भएको छ । यति गम्भीर तथ्य नबुझी सोझै घोक्नु वा कण्ठ गर्नु बेठिक भन्नु एकदमै गलत रहेको उहाँको धारणा छ ।

विद्यालय तथा उच्च शिक्षाको स्थानीय तथा विश्व परिवेशबारे प्रा.डा. विद्यानाथ कोइरालासँग गरिएको विस्तृत कुराकानीको सम्पादित भिडियो यहाँ प्रस्तुत गरिएको छ जहाँ उहाले शिक्षा सुधारको स्पष्ट खाका प्रस्तुत गर्नुभएको छ ।

श्रीश भण्डारी
थप जानकारी