हरेक अभिभावकको चाहना हुन्छ– आफ्ना छोराछोरी आत्मविश्वासी, जिम्मेवार, अनुशासित र आत्मनिर्भर बनून्। यसका लागि बालबालिकालाई राम्रो विद्यालयमा पढाउनु मात्र पर्याप्त हुँदैन। जीवनमा सफल हुन उनीहरूले दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक सीप, सामाजिक व्यवहार, आर्थिक सचेतना, सुरक्षित जीवनशैली र सही निर्णय गर्ने क्षमता पनि विकास गर्नुपर्छ।

आजका धेरै बालबालिका प्रविधि प्रयोग गर्न सिपालु छन्। तर आफ्नै ओछ्यान मिलाउन वा सामान्य खाना बनाउन भनियो भने धेरैलाई मुस्किल पर्छ । पैसाको मूल्य बुझ्न, अरुसँग सम्मानपूर्वक व्यवहार गर्न वा समस्या पर्दा उचित निर्णय लिन उनीहरुलाई अझै कठिन हुन्छ । शिक्षाको उद्देश्य पाठ्यपुस्तकको ज्ञानमा सीमित हुनु हुँदैन । जीवन उपयोगी सीप सिकाउनु पनि उत्तिकै आवश्यक छ।

त्यसैले नानीबाबु अनलाइनले बाल विकास, व्यावहारिक सिकाइ र जीवनोपयोगी शिक्षाको दृष्टिले कुन उमेर समूहका बालबालिकाले के के सिक्ने अवसर पाउनुपर्छ भन्नेबारे यो सामग्री तयार पारेको छ । यो सामग्री बाल विकास, सकारात्मक अभिभावकत्व र जीवनोपयोगी शिक्षासम्बन्धी विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ (UNICEF), अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) लगायतका अन्तर्राष्ट्रिय संस्थाका मार्गदर्शन, अनुसन्धान र विकासात्मक मापदण्डहरूका आधारमा तयार गरिएको हो। बालबालिकाको विकासको गति व्यक्तिगत रूपमा फरक हुन सक्छ। त्यसैले यहाँ उल्लेख गरिएका सीपहरू निश्चित उमेरमा अनिवार्य रूपमा हासिल गरिसक्नुपर्ने सूची नभई सो उमेरमा क्रमशः विकास गर्नुपर्ने जीवनोपयोगी सीपका रूपमा प्रस्तुत गरिएको हो। पढ्न र जसलाई जुन आवश्यक पर्छ त्यसैमा केन्द्रित हुन सहज होस् भन्ने हेतुले यो सामग्रीलाई उमेर समूहका आधारमा तीन भागमा प्रस्तुत गरिएको छ । यसले अभिभावक र शिक्षकलाई अब के सिकाउने ? भन्ने स्पष्ट मार्गदर्शन दिनेछ भन्ने हाम्रो अपेक्षा छ ।

६–९ वर्ष : आत्मनिर्भरताको आधार तयार पार्ने स्वर्णिम समय

६–९ वर्षको उमेर बालबालिकाको व्यक्तित्व, बानी, सामाजिक व्यवहार र आत्मनिर्भरताको बलियो आधार निर्माण हुने महत्त्वपूर्ण चरण मानिन्छ। यस उमेरमा उनीहरूले आफूले आफैं गर्न सक्ने साना–साना काम सिक्न थाल्छन्। यस समयमा सिकेका बानीहरूले भविष्यमा उनीहरू कति जिम्मेवार, अनुशासित र आत्मविश्वासी बन्छन् भन्ने कुरामा ठूलो प्रभाव पार्छ।

यस उमेरका बालबालिकालाई सबै काम गरिदिनुभन्दा उनीहरूलाई आफैं प्रयास गर्ने अवसर दिनु बढी महत्त्वपूर्ण हुन्छ। अनुसन्धानले पनि बालबालिकालाई उमेरअनुसारका जिम्मेवारी दिने, खेलमार्फत सिकाउने र दैनिक जीवनका काममा सहभागी गराउने अभ्यासले आत्मविश्वास, समस्या समाधान गर्ने क्षमता र जिम्मेवारीबोध विकास हुने देखाएको छ। सुरुमा उनीहरूले गल्ती गर्न सक्छन् । ढिलो गर्न सक्छन् । राम्रोसँग नगर्न सक्छन्। तर, अभ्यास, धैर्य र प्रोत्साहनले उनीहरू क्रमशः सक्षम बन्दै जान्छन्। त्यसैले यो उमेरलाई आत्मनिर्भर बन्न सिक्ने उमेर भन्न सकिन्छ। यो उमेर समूहका बालबालिकामा म आफैं गर्न सक्छु भन्ने आत्मविश्वास विकास भएको हुनुपर्छ ।

६–९ वर्षका बालबालिकाले के के गर्न सक्नुपर्छ ?

यस उमेरमा बालबालिकाले दैनिक जीवनमा प्रयोग हुने आधारभूत आत्महेरचाह (Self-care) र स्वतन्त्र रूपमा गर्न सकिने कामहरू क्रमशः सिक्दै जानुपर्छ।

व्यक्तिगत जीवन

दिनमा दुई पटक दाँत माझ्ने।
साबुनले राम्रोसँग हात धुने।
अभिभावकको सहयोगमा वा आफैं नुहाउने।
आफैं कपाल कोर्ने।
अभिभावको सहयोगमा नङ काट्ने र सफा राख्ने।
नाक सफा राख्ने ।
मौसमअनुसारको लुगा छान्न सक्ने ।
जुत्ता लगाउने पालिस गर्ने र फिता बाँध्ने।
चम्चा, काँटा प्रयोग गर्न सक्ने ।
पानी वा खाना एक भाँडोबाट अर्कोमा खन्याउन सक्ने ।
आफ्नो ओछ्यान मिलाउने।
आफ्ना खेलौना मिलाउने।
फोहोर डस्टबिनमा हाल्ने।
सामान प्रयोग गरेपछि निर्धारित ठाउँमा राख्ने ।
विद्यालयको झोला आफैं मिलाउने।
किताब कापी व्यवस्थित राख्ने।
बिरुवामा पानी हाल्ने।

सामाजिक व्यवहार

अभिवादन गर्ने ।
सहयोग माग्नुअघि कृपया भन्ने
सहयोग पाएपछि धन्यवाद भन्ने ।
गल्ती भएमा माफी माग्ने ।
आफ्नो परिचय दिन सक्ने।
अरुले बोलेका कुरा बीचमा नबोली सुन्न सक्ने ।
साथीसँग सामान बाँड्ने।
आफ्नो पालो पर्खन सक्ने ।
समूहमा मिलेर खेल्ने।
ठूलालाई सम्मान गर्ने।
सत्य बोल्ने।
आफूलाई मन नपरेको काम कुरा अस्वीकार गर्न सक्ने

आर्थिक जानकारी

सिक्का र नोटहरु चिन्ने ।
किनमेल गर्दा मूल्य तुलना गर्न सिक्ने ।
आफूले चाहेको सामान पाउन लागि केही समय कुर्न सिक्ने ।
परिवारमा कसले कति मेहेनत गरिरहेको छ भनेर बुझ्ने ।
परिवारको आम्दानी मेहेनतबाट आउँछ भन्ने बुझ्ने ।
खर्चको सीमा र बचतको महत्त्व बुझ्ने।
आवश्यकता र इच्छाबीचको भिन्नता बुझ्न प्रयास गर्ने ।

सुरक्षात्मक ज्ञान 

यस उमेरका बालबालिकाले आफ्नो सुरक्षा, व्यक्तिगत जानकारी र जोखिमपूर्ण अवस्थाको सामान्य पहिचान गर्न सक्ने क्षमता पनि क्रमशः विकास गरिरहेका हुन्छन्।

के के गर्दा लडिन्छ वा चोटपटक लाग्न सक्छ भनेर थाहा पाउने ।
बाटोमा हिँड्दा वा सडक पार गर्दा सावधानी अपनाउने ।
सवारी साधनमा चढ्दा वा ओर्लँदा अपनाउनुपर्ने सावधानी थाहा पाउने ।
आफ्नो नाम, ठेगाना र अभिभावकको फोन नम्बर भन्न सक्ने।
अपरिचित व्यक्तिसँग सुरक्षित व्यवहार गर्ने।
अभिभावकको अनुमति लिएर मात्र इन्टरनेट प्रयोग गर्ने ।
आफ्नो नाम ठेगाना वा फोटो कसैलाई अनलाइनमा कसैलाइ नपठाउने ।
फोन आएमा अभिभावकलाई जानकारी दिने वा आवश्यक परे उठाउन सक्ने ।
अनलाइनमा केही असहज लागे तत्काल अभिभावकलाई बताउने ।

यो उमेरमा अभिभावकले के गर्नुपर्छ ?

सकारात्मक अभिभावकत्व, नियमित अभ्यास, प्रशंसा र सुरक्षित वातावरणले बालबालिकाको समग्र विकासलाई उल्लेखनीय रूपमा सहयोग गर्छ।

• बच्चालाई उमेरअनुसारका साना–साना जिम्मेवारी दिनुहोस्।
• काम गरेर देखाइदिनुहोस्, त्यसपछि आफैं गर्न प्रोत्साहन गर्नुहोस्।
• गल्ती भए गाली होइन फेरि प्रयास गर्न हौसला दिनुहोस्।
• घरका सामान्य काममा सहभागी गराउनुहोस्।
• राम्रो काम गर्दा प्रशंसा गर्नुहोस्।
• दैनिक निश्चित दिनचर्या बनाइदिनुहोस्।
• “तिमीले गर्न सक्छौ” भन्ने विश्वास दिलाउनुहोस्।
• मोबाइल वा टेलिभिजनमा सीमित समय मात्र रहन दिनुहोस् ।
• व्यवहारिक सिकाइको अवसर हुने ठाउँमा लैजान नछुटाउनुहोस् ।
• जीवनोपयोगी सीपलाई पढाइ सरह नै महत्त्व दिनुहोस्।

यो उमेरमा अभिभावकले के गर्नु हुँदैन ?

• बच्चाले गर्न सक्ने सबै काम आफैं गरिदिनु हुँदैन।
• अरू बच्चासँग तुलना गर्नु हुँदैन।
• गल्ती गर्दा अपमानजनक शब्द प्रयोग गर्नु हुँदैन।
• डर देखाएर सिकाउने प्रयास गर्नु हुँदैन।
• केवल अंक वा पढाइलाई मात्र सफलता मान्नु हुँदैन।
• मोबाइल वा टेलिभिजनमा ज्यादा निर्भर गराउनु हुँदैन।
• “तिमीबाट हुँदैन” जस्ता नकारात्मक शब्द प्रयोग गर्नु हुँदैन।
• धेरै ठूलो जिम्मेवारी एकैपटक दिनु हुँदैन।

घरमै गराउन सकिने ५ अभ्यास

१. बिहानको आत्मनिर्भरता अभ्यास– बालबालिकालाई आफैं उठ्ने, ओछ्यान मिलाउने, दाँत माझ्ने र विद्यालयको झोला तयार गर्ने अभ्यास गराउनुहोस्।

२. सानो घरायसी सहयोग– दिनहुँ एउटा कामको जिम्मा दिनुहोस् । जस्तै बिरुवामा पानी हाल्ने, टेबल मिलाउने वा फोहोर डस्टबिनमा हाल्ने।

३. बचत गर्ने बानी– एउटा पिग्गी बैक वा वाकस राखिदिनुहोस्। त्यसमा नियमित रूपमा थोरै रकम बचत गर्न प्रोत्साहन गर्नुहोस्।

४. धन्यवाद डायरी– हरेक रात सुत्नुअघि आज कुन तीन कुराका लागि खुशी वा कृतज्ञ छु भनेर भन्न वा लेख्न लगाउनुहोस्।

५. सुरक्षा अभ्यास– घरको ठेगाना, अभिभावकको फोन नम्बर, सडक कसरी पार गर्ने र अपरिचित व्यक्तिसँग कसरी व्यवहार गर्ने भन्ने कुरालाई कथात्मक वा खेलको शैलीमा अभ्यास गराउनुहोस्।

६–९ वर्षको उमेर पूर्णता खोज्ने समय होइन, अभ्यास गर्ने समय हो। प्रारम्भिक बाल्यकालमा सिकाइने यस्ता जीवनोपयोगी सीपहरूले भविष्यको स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सम्बन्ध र समग्र जीवन सफलतामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन्। बालबालिकाले गल्ती गर्दै, दोहोर्‍याउँदै र अनुभवबाट सिक्छन्। उनीहरूलाई समय, अवसर र सकारात्मक प्रोत्साहन दिइयो भने आज आफैं जुत्ताको फिता बाँध्न सिकेको बच्चाले भोलि जीवनका ठूला जिम्मेवारी पनि आत्मविश्वासका साथ सम्हाल्न सक्छ। त्यसैले साना–साना दैनिक सीपलाई सामान्य रूपमा लिनु हुँदैन। यिनै सीपहरूले भविष्यमा जिम्मेवार, आत्मनिर्भर र सफल नागरिक बन्ने बलियो आधार तयार गर्छन्।

नानीबाबुअनलाईन
थप जानकारी