बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइने भएको छ। सामाजिक सञ्जालहरुको दुष्प्रभावबाट बालबालिकालाई जोगाउन अनलाइन सुरक्षालाई सुदृढ बनाउने सरकारी अभियानअन्तर्गत यस्तो कदम चालिएको हो ।
बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले यी परिवर्तनहरूलाई बालबालिकाको सुरक्षा सुनिश्चित गर्न असफल भएका प्रविधि कम्पनीहरूका लागि “स्पष्ट चेतावनी”को संज्ञा दिएका छन्। सोमबार सरकारले घोषणा गरेका सामाजिक सञ्जाल प्रतिबन्ध अनुसार १६ वर्षमुनिका बालबालिकाका लागि स्न्यापच्याट (Snapchat), टिकटक (TikTok), युट्युब (YouTube), इन्स्टाग्राम (Instagram), एक्स (X) र फेसबुक (Facebook) सबैमा पहुँच बन्द गरिनेछ।

प्रधानमन्त्री कीयर स्टार्मरले भनेका छन, “आज म घोषणा गर्न सक्छु कि सरकारले १६ वर्षभन्दा कम उमेरका सबै बालबालिकाका लागि सामाजिक सञ्जालमा पहुँच प्रतिबन्धित गर्नेछ,” स्टार्मरले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा भने। “म आफ्ना बालबालिकाको सुरक्षा र खुसीको विषयमा कुनै सम्झौता गर्न तयार छैन। त्यसैले यो प्रतिबन्ध लागू हुनैपर्छ, र यही कारणले यो प्रतिबन्ध अवश्य लागू हुनेछ।”
सरकारले अस्ट्रेलियामा प्रयोग भइरहेको ढाँचालाई आधार बनाएको छ। प्रयोगकर्ताबीच अन्तरक्रिया गराउने, सामग्री पोस्ट गर्न दिने र एल्गोरिदममार्फत् सामग्री सिफारिस गर्ने “प्रयोगकर्ता-देखि-प्रयोगकर्ता” (user-to-user) प्लेटफर्महरूमा १६ वर्षमुनिका बालबालिकाको पहुँच प्रतिबन्धित गरिनेछ। यस प्रतिबन्धको दायरामा अधिकांश प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरू पर्नेछन्।
व्हाट्सएप (WhatsApp) र सिग्नल (Signal) जस्ता सन्देश आदानप्रदानका प्लेटफर्महरूलाई भने यस प्रतिबन्धमा समावेश गरिएको छैन । संगीत स्ट्रिमिङ सेवा, ई–कमर्स प्लेटफर्म तथा शैक्षिक सेवाहरूलाई असर नपरोस् भनेर केही सीमित अपवादहरू राखिने भएको बीबीसीले जनाएको छ ।
सरकारले १,१६,००० भन्दा बढी प्रतिक्रियाहरू प्राप्त भएको सार्वजनिक परामर्श प्रक्रियापछि तयार भएको यो प्रतिबन्धको तयारी गरेको हो । सरकारका अनुसार सार्वजनिक परामर्शमा सहभागी १० मध्ये ९ अभिभावक प्रतिबन्ध लगाउनु पर्ने पक्षमा छन् । दुईतिहाइ युवाले पनि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई कम्तीमा केही सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न नदिइनु उचित हुने बताएका छन्। प्रतिबन्ध आगामी वर्षको वसन्त ऋतु (Spring) देखि लागू हुने अपेक्षा छ।
बेलायत सरकारले लागू गर्न लागेको यस योजनालाई “अस्ट्रेलिया प्लस” नाम दिइएको छ । यसको उद्देश्य बेलायती किशोरकिशोरीहरूले अस्ट्रेलियामा जस्तै सजिलै प्रतिबन्ध छल्न नसकून् भन्ने हो। किनभने अस्ट्रेलियामा १६ वर्षमुनिका “उल्लेखनीय संख्या” का बालबालिकाले पुराना खाता कायम राख्न, नयाँ खाता खोल्न वा उमेर-नियन्त्रण प्रणाली छल्न सफल भएका छन्।
सामाजिक सञ्जाल प्रतिबन्धसँगै १६ वर्षमुनिका बालबालिकाका लागि गेमिङ वेबसाइटहरू लगायत अन्य अनलाइन सेवाहरूमा लाइभ स्ट्रिमिङ (livestreaming) र अपरिचित व्यक्तिसँगको सञ्चारमा पनि रोक लगाइने बताइएको छ ।
सरकारका अनुसार, १६ र १७ वर्षका किशोरकिशोरीहरूका लागि पनि यी सुरक्षा सेटिङहरू प्रारम्भिक रूपमा स्वचालित रूपमा सक्रिय रहनेछन् । यसले गर्दा १६ वर्ष पुगेपछि पनि अचानक सबै प्रतिबन्ध हट्ने अवस्था नआओस् भन्ने सरकारके चाहना छ ।
यस उमेर समूहका लागि अनन्त स्क्रोलिङ (infinite scrolling) मा सीमा लगाउने तथा सामाजिक सञ्जाल प्रयोग गर्ने समयसीमा (curfew) निर्धारण गर्ने विषय पनि विचाराधीन छ।
यौन सम्बन्धको नक्कल गर्ने वा प्रयोगकर्तासँग प्रेमसम्बन्धी भूमिका निर्वाह गर्ने तथाकथित “रोमान्टिक कम्प्यानियन” च्याटबोटहरूका लागि न्यूनतम उमेर १८ वर्ष तोकिनेछ। अन्य च्याटबोटहरूमा पनि अन्तरंग (intimate) सुविधाहरू प्रयोग गर्न १८ वर्ष उमेर सीमा लागू गरिने जनाइएको छ।
सरकारले भर्चुअल प्राइभेट नेटवर्क (VPN) प्रयोग गरेर प्रतिबन्ध छल्ने प्रयासलाई कसरी सम्बोधन गर्ने भन्नेमा पनि गृहकार्य गरिरहेको जनाएको छ ।
सरकारको घोषणा अनुसार अब संभवत बेलायतको ‘अनलाइन सेफ्टी एक्ट’ (Online Safety Act) अन्तर्गत हाल लागू रहेको उमेर प्रमाणीकरण (age verification) प्रणाली अझ कडा हुनेछ । यस प्रक्रियाको निगरानी त्यहाँको सञ्चार नियामक संस्था अफकम (Ofcom) ले गर्छ।
अफकमले अक्टोबरसम्म १६ वर्षमुनिका लागि उमेर-आधारित पहुँच नियन्त्रण (age-gating) कसरी प्रभावकारी रूपमा लागू गर्ने भन्नेबारे मूल्याङ्कन सार्वजनिक गर्नेछ। हालको प्रणालीले १८ वर्षमुनिका व्यक्तिलाई अश्लील सामग्री तथा अन्य हानिकारक सामग्री पहुँच गर्नबाट रोक्छ। उमेर प्रमाणीकरणका लागि अनुहारको आधारमा उमेर अनुमान, (facial age estimation) बैंकसम्बन्धी जानकारीको प्रयोग, इमेलमार्फत उमेर अनुमान र डिजिटल परिचयपत्र (digital ID) जस्ता प्रक्रियाहरु लागू गरिने अनुमान छ ।
उमेर प्रमाणीकरणका यी विधि विवादास्पद बन्न सक्ने देखिन्छ। सरकारले बालबालिकाका लागि सुरक्षा उपायहरू छल्न गाह्रो बनाउने प्रभावकारी कार्यान्वयन चाहेको भएपनि प्रविधि कम्पनी र अधिकारकर्मीहरूले प्रयोगकर्ताको थप व्यक्तिगत जानकारी संकलन गर्नुपर्ने सम्भावनाप्रति आपत्ति जनाउन सक्नेछन् ।
बेलायती सञ्चार संस्था द गार्डियनका अनुसार अनलाइन सुरक्षा सम्बन्धी परोपकारी संस्था ‘मोली रोज फाउन्डेसन’ (Molly Rose Foundation) ले यो प्रतिबन्धले अभिभावकहरूमा “झूटो सुरक्षा अनुभूति” सिर्जना गर्न सक्ने चेतावनी दिएको छ। संस्थाले यसो गर्नुको साटो बालबालिकालाई हानिकारक सामग्रीतर्फ धकेल्ने एल्गोरिदमहरूलाई नियन्त्रण गर्नु आवश्यक रहेको जनाएको छ ।
त्यस्तै गुगलको स्वामित्वमा रहेको युट्युबले पनि प्रतिबन्धप्रति निराशा व्यक्त गरेको छ। कम्पनीले यस्तो कदमबाट बालबालिकालाई अझ असुरक्षित तथा कम नियन्त्रित प्लेटफर्मतर्फ धकेलिन सक्ने आशंका व्यक्त गरेको छ ।
युट्युबका प्रवक्ताको भनाइ छ– “युट्युब युवा, शिक्षक र अभिभावकका लागि महत्वपूर्ण स्रोत हो। व्यापक प्रतिबन्धहरूले बालबालिकालाई निगरानी र मार्गदर्शनसहितका लाभदायक अनुभवहरूबाट टाढा पुर्याएर नाम नखुलेका तथा कम सुरक्षित सेवातर्फ धकेल्न सक्छन्।” बेलायतको यो कदमको प्रभाव ढिलो छिटो अन्य मुलुकहरुमा पनि पर्ने देखिएको छ ।

नानीबाबुअनलाईन 

















प्रतिक्रिया दिनुहोस्