ललितपुर– ईटर्नल पब्लिकेसन प्रा.लि.का पछिल्ला दुई प्रकाशनहरू ‘फूलहरूको साउती’ र ‘आमाले बुनेको मोजा र टोपी’ विभिन्न स्कुलका बालबालिकामाझ उनीहरूबाटै सार्वजनिक गरिएको छ ।
ललितपुरको गोदावरी–१४, ठैवस्थित ब्लुबर्ड स्कुलमा सोमबार आयोजित ‘पुस्तक विमोचन तथा बाल–समीक्षा कार्यक्रम’मा यी दुई सचित्र बालकथाहरू सार्वजनिक गरिएको हो । बालकथाहरू क्रमशः श्रीश भण्डारी र यमुना पराजुली अधिकारीले लेखेका हुन् ।
कार्यक्रममा ब्लुबर्ड स्कुलका बालबालिकाले दुबै कथा–कृतिहरूलाई नाटकका रूपमा मञ्चमा प्रस्तुत गरेका थिए । उनीहरूले सचित्र व्याख्या र कविताका माध्यमबाट पनि लोकार्पित कृतिहरूलाई प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा विद्यार्थी र लेखकद्वयबीच छोटो अन्तक्र्रिया पनि भएको थियो । ब्लुवर्ड स्कुलका प्रिन्सिपल चन्द्रशेखर सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा करिब एक दर्जन विद्यालयका प्रिन्सिपलहरू सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लेखक श्रीश भण्डारीले बालबालिकालाई आफ्नो समाज र परिवेशप्रति सचेत गराउन कथा एकदमै उपयोगी विधा भएको धारणा राख्नुभयो । “आजको दुनियाँमा त्यही व्यक्ति सफल ठहर्छ जसले आफ्नो कथा सही ढंगले अरुलाई बुझाउन सक्छ,” भण्डारीले भन्नुभयो, “त्यसैले बालबालिकाको उज्जवल भविष्यका लागि कथा–पठन र कथा–लेखनको विशेष महत्त्व छ ।”
लेखक यमुना पराजुली अधिकारीले कथा–पठनको अभ्यास विद्यार्थीको सिर्जनशील क्षमता विकास गर्नमा एकदमै प्रभावकारी हुने बताउनुभयो । “कथाका पात्र, परिवेश, समस्या र समाधानहरूले उनीहरूको कल्पनाशीलता बढाउँछ,” उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति तथा ब्लुबर्ड स्कुलका प्रिन्सिपल चन्द्रशेखर सापकोटाले लोकार्पण गरिएका दुबै कृति कक्षा २, ३ र ४ का विद्यार्थीका लागि एकदमै उपयोगी रहेको बताउनुभयो । “यी पुस्तकहरू आफ्ना विद्यार्थीलाई पढ्नका लागि उपलब्ध गराउने वातावरण मिलाउन म अन्य स्कुलका प्रिन्सिपलज्यूहरूलाई पनि अनुरोध गर्दछु,” उहाँले भन्नुभयो ।
कार्यक्रमका ब्लु बर्ड स्कुलका कक्षा १ देखि ४ सम्मका विद्यार्थीले नृत्यहरू पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पनि बिद्यार्थीहरूले नै गरेका थिए । इटर्नल प्रकाशन प्रा.लि.ले प्रकाशन गरेका यी दुबै सचित्र बालकथाका किताबहरूको मूल्य दुई/दुई सय रुपैँया रहेको छ ।
प्रतिक्रिया दिनुहोस्